विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन

जनकपुरधाम, १२ वैशाख । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्यु भएकाे घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ ।

विष सेवनवाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्र्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । मृतक पवित्रा साहका श्रीमान् सुशील साह हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिनुभयो ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल अटनाको अनुसन्धान भइरहको छ ।