मुग्लिन–पोखरा सडकः दमौली बजारमा दोस्रो चरणको कालोपत्रे थालियो
दमौली (तनहुँ), १३ वैशाख। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे गर्ने काम सुरु भएको छ। केही समयअघि सोही ठाउँमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएसँगै शुक्रबारदेखि दोस्रो चरणको काम थालिएको हो।
दमौली बजारको मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा यसअघि नै पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको छ। हाल दमौली बजार क्षेत्रमा एकतर्फी रूपमा कालोपत्रे गर्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो।
पूर्वी खण्डका अन्य स्थानमा कालोपत्रेको काम अन्तिम चरणमा पुगे पनि दमौली बजार क्षेत्रमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा केही समय लागेको थियो। यो खण्डको समग्र काम ८२.९५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
चार लेनको ३३.५६ किलोमिटर र दुई लेनको ३.२ किलोमिटर सडकखण्डमा अन्तिम कालोपत्रे सम्पन्न भइसकेको छ। “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरीमा कालोपत्रे सम्पन्न भएको छ,” इन्जिनियर पाण्डेले भन्नुभयो।
विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सडकलाई चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको निर्माणका लागि रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारको ठेक्का सम्झौता भएको छ।
