धनकुटामा ४२१ किलो गाँजासहित कार नियन्त्रणमा, चालक फरार
काठमाडाैं, १७ वैशाख । सशस्त्र प्रहरी बलले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी लोकमार्गबाट बुधबार बिहान ४२१ किलोग्राम गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।
मुलघाटस्थित सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश क्याम्पको चेक प्वाइन्ट टोलीले नमस्ते झरना नजिकै धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई शङ्कास्पद देखेपछि रोकेर जाँच गर्न खोजेको थियो। तर, चालकले कार नरोकी तीव्र गतिमा भागेका थिए।
सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा उक्त कार अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार, दुर्घटनाग्रस्त कारको जाँच गर्दा १२ वटा छुट्टाछुट्टै पोकामा प्याक गरेर लुकाइएको अवस्थामा ४२१ किलो गाँजा फेला परेको हो।
बरामद गरिएको कार र गाँजा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटालाई बुझाउने प्रक्रिया अगाडि बढाइएको डीएसपी थापाले जानकारी दिए। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।