उपप्रमुख सुनिता डंगोलबाट हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास
काठमाडौं, १८ वैशाख । नरःदे (हाँडीगाउँ) स्थित भीमसेनस्थानमा फल्चासहितको आधुनिक पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले बुधबार वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा उपप्रमुख डंगोलले सम्पदाको मौलिक स्वरुपमा पुनरुत्थान गर्ने महानगरपालिकाको नीति अनुरुप यस भवन निर्माणले हाँडीगाउँको ऐतिहासिक महत्वलाई थप उजागर गर्ने बताउनुभयो । मूर्त, अमूर्तसँगै अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनमा महानगर प्रतिबद्ध रहेको उहाँले जोड दिनुभयो ।
वडाध्यक्ष प्रजापतीले हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फर्काउने अभियानमा फल्चासहितको पुस्तकालय भवन निर्माण एउटा महत्वपूर्ण कदम भएको बताउनुभयो ।

९४० वर्गफिट प्लिन्थ एरियामा निर्माण हुने तीन तले भवनमा जमिन तलाको मध्यभागमा प्राङ्गण, सडक तर्फ फल्चा, वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्ष लगायतका सुविधा रहनेछन् । नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुने यस भवनको लागत २ करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँमा ठेक्का लागेको यो भवन २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठका अनुसार वि. सं. २०१९ सालदेखि नै यस स्थानमा पुस्तकालय सञ्चालनमा रहेको थियो भने फल्चा स्थानीय पैँता खलले प्रयोग गर्दै आएका थिए।
भवनको सामुन्ने रहेको भीमसेन मन्दिर महाभारतकालीन महत्व बोकेको स्थान हो । लोककथन अनुसार भीमसेनले किचक वध गरेपछि पुनः किचकले जनतालाई दुःख नदेओस् भनेर कुरेर बसेको स्थानको रुपमा यसलाई लिइन्छ । टुँडालदेवी जात्राको दिन भने देवीले यो स्थानमा कुरेर बस्ने र त्यस दिन देवीको खट मन्दिर छेउको चौबाटोमा राख्ने परम्परा रहेको श्रेष्ठले बताउनुभयो । सडक विस्तारका क्रममा यहाँ रहेको किचकको प्रतीक ठूलो ढुङ्गालाई सार्ने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
