विपद् उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री लेखक
मनाङ, १९ वैशाख । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार र सीमा सुरक्षामा अब्बल बन्दै गएको बताउनुभएको छ ।
मनाङस्थित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयमा आज आयोजित प्रशिक्षार्थीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले विपद्का बेला सशस्त्र प्रहरीले देखाएको तत्परता र सीमा सुरक्षामा पुर्याएको योगदानले नागरिकको विश्वास र भरोसा बढाएको उल्लेख गर्नुभयो । “सीमा सुरक्षा होस् वा विपद्बाट नागरिक आक्रान्त भएको अवस्थामा, सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय छ, यसले सशस्त्र प्रहरीलाई भरोसायोग्य बनाएको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई थप उत्कृष्ट बनाउन सरकार लागिपरेको छ ।”
मनाङ जस्तो पर्यटकीय क्षेत्रमा पर्वतीय जोखिम उद्धार तालिमले स्थानीय र पर्यटक दुवैलाई सहज हुने विश्वास व्यक्त गर्दै उहाँले तालिम प्राप्त जनशक्तिले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विश्वकै जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्गमा पर्यटकको यात्रा सुरक्षित बनाउन यो तालिमले मद्दत पुग्ने बताउँदै उहाँले पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमाली यात्रालाई सुरक्षित बनाउन थप भूमिका खेल्नेछन् भन्ने विश्वास छ,” उहाँले भन्नुभयो, “विश्वको आकर्षणको केन्द्र मनाङको पर्यटन प्रवर्द्धनका लागि यात्रा सुरक्षित बनाउँदै पर्यटक आगमनलाई वृद्धि गर्न लाग्नुपर्छ ।”
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने विपद् तथा जोखिम न्यूनीकरणमा तालिमले थप जिम्मेवारी बोध गराएको बताउनुभयो । उहाँले जल उद्धार जस्तै पर्वतीय उद्धारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
महानिरीक्षक अर्यालले पर्यटक आगमन बढाउन सुरक्षाको प्रत्याभूति आवश्यक रहेको औँल्याउँदै पर्वतीय उद्धारमा खटिने प्रहरीलाई पनि गोताखोरसरह सुविधा उपलब्ध गराउन पहल गरिने बताउनुभयो । “तत्कालका लागि सरकारबाट व्यवस्थापन नहुँदासम्म कल्याणकारी कोषबाट उद्धारमा खटिने सशस्त्र प्रहरीलाई रु एक हजार भत्ताको प्रबन्ध गरिनेछ,” उहाँले भन्नुभयो ।