‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको छ’ : मुख्य सचेतक न्यौपाने

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले देशको विकासको संस्कृतिलाई नै बदल्ने सङ्कल्प लिएको बताउनुभएको छ।
राष्ट्रियसभाको आजको बैठकमा उक्त नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले विगतका भन्दा यो नीति कार्यक्रम वैज्ञानिक, यथार्थपरक र सान्दर्भिक रहेकोले विरोध गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो।
नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दै मुख्य सचेतक न्यौपानेले भन्नुभयो, “यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अङ्गाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ।” उहाँले सङ्घका करिब १८ हजार आयोजनामध्ये कतिपय अलपत्र र अनावश्यक रहेकाले सोचेजस्तो विकास हुन नसकेको यथार्थलाई औंल्याउँदै, “अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको छ,” भनी स्पष्ट पार्नुभयो।
यसअघिका नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयलाई सम्बोधन गर्ने गरी र कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गरिएको उहाँको भनाइ थियो। साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, पुनरुत्थानवादको प्रतिवाद, संविधानको रक्षा, आवश्यक संशोधन र कार्यान्वयन, तथा राजनीतिक स्थायित्व जस्ता विषय नीति कार्यक्रमका महत्त्वपूर्ण सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो।