बालमन्दिर जग्गा भाडा प्रकरण: ६० करोडभन्दा बढीको ठगीमा १७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, २४ वैशाख । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा भाडा प्रकरणमा ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँभन्दा बढीको ठगीमा संलग्न रहेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ जिल्ला अदालतमा बुधबार दायर गरिएको मुद्दामा मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी) अन्तर्गत ७ वर्षसम्म कैद सजायको माग गरिएको छ। सीआईबीले सुरुमा २० जनाविरुद्ध अनुसन्धान अगाडि बढाए पनि ३ जनाको मृत्यु भइसकेकाले उनीहरूविरुद्ध मुद्दा चल्ने छैन।
मुद्दा दायर हुनेहरूमा नेपाल बाल संगठनका पूर्वअध्यक्ष रीता सिंह वैद्य (उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी), पूर्वउपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, पूर्वमहासचिव गणेश भक्त श्रेष्ठ, सदस्य कृष्ण शंकर साह, पूर्वमहासचिवहरू श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, रामकाजी गुरुङ कोने, पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाही, पूर्वउपकोषाध्यक्ष दीपकदास श्रेष्ठलगायत छन्। त्यस्तै, वृहस्पति विद्या सदनका सञ्चालकहरू प्रवीण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय पनि प्रतिवादी छन्।
बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा वृहस्पति विद्या सदनले भाडामा लिएको छ। २०५९ सालमा २०८९ सालसम्मको भाडा सम्झौता भए पनि २०७२ सालमा थप ३८ वर्षका लागि सम्झौता गरी भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँ मात्र तोकिएको थियो। यसरी चलनचल्तीको भाडाभन्दा कम दरमा सम्झौता गरी ठगी गरेको आरोप लागेको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार यस ठगी प्रकरणमा रीता सिंह वैद्य मुख्य व्यक्ति हुन्। उनीसहित पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाहीको भने बयान नलिइकनै मुद्दा दायर गरिएको छ। बाँकी १५ जनाको भने बयान लिइसकिएको छ।
