‘मानवतालाई जीवित राखौँ’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ, वैशाख २५ । आज ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै छ। रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा योगदान गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूको सम्मान गर्दै हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ।
नोबेल शान्ति पुरस्कार विजेता तथा रेडक्रसका संस्थापक हेनरी ड्युनाँको जन्मजयन्तीको अवसर पारेर यो दिवस मनाउने गरिन्छ। प्राकृतिक प्रकोप, युद्ध, स्वास्थ्य सङ्कटलगायत विपद्मा मानवीय सेवामा समर्पित रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको काम र सिद्धान्तबारे जनचेतना फैलाउने उद्देश्य यस दिवसको रहेको छ।
बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वबीच मानवीय मूल्य र आदर्शलाई जीवित राख्न यो दिवस महत्वपूर्ण रहेको रेडक्रसका स्वयंसेवकहरूले बताएका छन्। उनीहरूले दया, शान्ति र आशाको सन्देश विश्वभर फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।