आज २६४९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौँ, २९ वैशाख । भगवान् बुद्धको २६४९ औँ जयन्ती तथा लुम्बिनी दिवस आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गरिन्छ । त्रिसंयोग दिवसका रूपमा पनि यो दिनलाई लिइन्छ । बुद्ध जयन्तीको अवसरमा आजदेखि बुद्ध सम्बत्को नयाँ वर्ष २५६९ पनि प्रारम्भ भएको छ ।
संयुक्त राष्ट्रसंघले पनि आजलाई ‘बैशाख पूर्णिमा’ का रूपमा विश्वव्यापी कार्यक्रम गरी मनाउँदैछ । तर, नेपालमा भने बुद्ध जयन्तीको वर्ष गणनाका सम्बन्धमा केही भ्रम देखिएको छ । धेरै नेपाली बौद्ध धर्मावलम्बीलाई २५६९ औँ बुद्ध जयन्ती भन्दा २६४९ औँ बुद्ध जयन्ती भन्ने जानकारी नहुँदा बुद्ध सम्बत्को नयाँ वर्षलाई नै बुद्ध जयन्तीको रूपमा लिने प्रवृत्ति देखिएको छ । बौद्ध विद्वानहरू यसलाई थेरवादी भिक्षुहरूद्वारा नेपाली समाजमा फैलाइएको भ्रमको रूपमा व्याख्या गर्दछन् ।
आज बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा, विहार आदिमा पूजापाठ, ध्यान, प्रार्थना गरी यो पर्व मनाउँदैछन् । लुम्बिनी, स्वयम्भू, बौद्धनाथलगायतका स्थलमा सरकार र बुद्ध जयन्ती समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । भगवान् बुद्धले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको स्मरण गर्दै यो पर्व मनाइने गरिएको हो ।
