बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध, बेपत्ता महिलाको खोजी जारी
काभ्रेपलाञ्चोक, ३० वैशाख । अविरल वर्षाका कारण बिपी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ। रोशी खोलामा आएको बाढीले सोमबार राति माप्तीस्थित डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आठ घण्टादेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले बाढीले रोशी गाउँपालिका–१२, मङ्गलटार नजिकै राजमार्गमा थप क्षति पुर्याएकाले सडक खुलाउन कठिनाइ भएको बताए। प्रहरी र स्थानीयको प्रयासमा एकतर्फी रूपमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। गत वर्षको बाढीले क्षतिग्रस्त भएको सो स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले अवरुद्ध राजमार्गमा अलपत्र परेका १७ यात्रुको उद्धार गरेको छ।
यसैबीच, सोमबारको अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकी एक महिलाको खोजी कार्य आज पनि जारी छ। पनौती नगरपालिका–५, सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन्। मेलाबाट फर्कने क्रममा उनी बाढीमा परेकी थिइन्। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। सोमबार राति अबेरसम्म खोजी प्रयास असफल भएपछि आज बिहानदेखि पुनः खोजी कार्य सुरु गरिएको डिएसपी घलेले बताए।
सोमबारको वर्षाले पनौती बसपार्क आसपासका क्षेत्र डुबानमा परेका थिए भने आलु खेतीमा क्षति पुगेको छ।
