लुम्बिनीमा भीषण हावाहुरी: ५ को मृत्यु, ८ घाइते, रुख र दुर्घटनाले लियो ज्यान

रुपन्देही, २ जेठ । शुक्रबार दिउँसो लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अकस्मात आएको भीषण हावाहुरीले ठूलो वितण्डा मच्चाएको छ ।

यस प्राकृतिक प्रकोपका कारण हालसम्म ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । तीव्र गतिको हावा र पानीले रुखहरू ढाल्नुका साथै सवारी दुर्घटना पनि गराएको छ ।

नवलपरासीमा २ को मृत्यु, ३ गम्भीर घाइते
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ ज्यामिरेमा प्रतीक्षालयमाथि रूख ढल्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार मृत्यु हुनेमा सुनवल–७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् ।

सोही घटनामा ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा गम्भीर घाइते भएका छन् । उनीहरुको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेका बेला उनीहरुलाई हावाहुरीले ढालेको रूखले किचेको थियो, जसकारण प्रतीक्षालयसमेत भत्किएको छ ।

कपिलवस्तुमा आँप टिप्न गएकी बालिकाको मृत्यु
यस्तै, कपिलवस्तु नगरपालिका–९ मैनिहवामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवटको रूखको हाँगा भाँचिएर लाग्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीका अनुसार तौलिहवा–लुम्बिनी सडक खण्डको बगैँचामा आँप टिप्ने क्रममा उनी घाइते भएकी थिइन् । उनलाई तत्काल तौलिहवास्थित जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

रुपन्देहीमा सवारी दुर्घटनामा २ को मृत्यु
यसैबीच, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियास्थित हुलाकी राजमार्गमा पिकअप भ्यान र भारतीय कार ठोक्किँदा भएको दुर्घटनामा थप दुई जनाको मृत्यु भएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी सुरज कार्कीका अनुसार भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार एकआपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने ३७ वर्षीय कृष्णचन्द्र मौर्य (आधार कार्डबाट खुलेको) र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् । दुर्घटनामा कार चालक भारतको अम्बेटकर नगर बस्ने ३५ वर्षीय नगेन्द्र बर्मा घाइते भएका छन् । पिकअपमा सवार चालकसहित पाँच जना भने सामान्य घाइते भएका छन् ।

रुपन्देहीका अन्य क्षेत्रमा पनि क्षति
रुपन्देहीका बुटवल, देवदह, भैरहवा, मर्चवार लगायतका विभिन्न ठाउँमा हावाहुरीले भौतिक क्षति पुर्‍याएको छ । केही घरका छाना उडाएको छ भने कतिपय स्थानमा रुखहरु ढलेका छन् । यद्यपि, हावाहुरीका कारण रुपन्देहीमा (दुर्घटना बाहेक) अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।