गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेद्वारा सगरमाथा आधार शिविरको निरीक्षण

सोलुखुम्बु, ३ जेठ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ । पर्यटकीय याममा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन तथा त्यस क्षेत्रको शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न मन्त्रीद्वय हेलिकप्टरमार्फत खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित आधार शिविर पुग्नुभएको हो ।

भ्रमणका क्रममा गृहमन्त्री लेखकले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि सरकारले हेलिकप्टर उडानलाई निर्वाध बनाउने वातावरण सिर्जना गर्न तत्पर रहेको बताउनुभयो । शारीरिक रूपमा अशक्त वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको औंल्याउँदै उहाँले यस्तो सेवालाई सहज र संयमित बनाउने नीति सरकारको रहने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढङ्गले जनमुखी नीति कार्यान्वयन गर्दैछ । हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।” उहाँले स्थानीयस्तरबाट उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने माग उठ्दै आएको र गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न बारम्बार आग्रह गरेको स्मरण गर्नुभयो ।

अर्कोतर्फ, पर्यटन व्यवसायीहरूले भने अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउँदा व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएको सन्दर्भमा सन्तुलित समाधान खोजिने उहाँको भनाइ थियो । गृहमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली पनि सगरमाथा क्षेत्रका समस्याबारे जानकार रहेको र समाधानका लागि ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सोही अवसरमा पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन विकासमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सगरमाथाजस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नजिकबाट नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गर्नुभयो । “हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँका समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ,” मन्त्री पाण्डेले भन्नुभयो ।

भ्रमणका क्रममा आयोजित अन्तरक्रियामा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । उनीहरूले आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि र आरोही कल्याणकारी कोषको स्थापनाजस्ता मागलाई प्राथमिकतामा राखेका थिए ।

यस्तै, कीर्तिमानी आरोही कामी रिता शेर्पालगायतका प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउनुपर्ने तथा खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई थप पाँच वर्षको म्याद दिनुपर्ने सुझाव राख्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावहरूप्रति सकारात्मक रहेको बताउँदै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।