धर्मचक्र महाविहारमा नाम संगीति स्तोत्र पाठ सम्पन्न
ललितपुर, जेठ ३ गते । आज २०८२ जेठ ३ गते शनिबार ललितपुरको सिद्धिपुर, ठसि पिननि टोलस्थित श्री धर्मचक्र महाविहारमा आर्यमञ्जुश्री नाम संगीति स्तोत्र पाठ सम्पन्न भएको छ। काठमाडौंको खल क्वनेपुई समूहले गौतम बज्राचार्यको नेतृत्वमा आयोजना गरेको यस कार्यक्रममा ६३ जनाको टोलीले सहभागिता जनाएको थियो।
स्थानीयबासी लगायत सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न यस कार्यक्रमको निमन्त्रणा अज्ञात रहेको छ। नाम संगीति स्तोत्र पाठ पश्चात् काठमाडौंबाट गएको टोलीले बुद्ध पूजा गरेको थियो। आयोजकले नाम संगीति टोलीलाई पञ्चदान गर्नुका साथै खल काठमाडौंलाई नगद रु. ५०००/- सहयोग प्रदान गरेको छ।
कार्यक्रममा गुरु दीपक बज्राचार्यले नाम संगीतिको अर्थ र महत्वबारे प्रवचन दिनुभएको थियो भने राजेश बज्राचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। आयोजकले सहभागीहरुलाई जलपान र बिहानको भोजनको व्यवस्था गरेका थिए। यो धर्मचक्र महाविहारमा यस्तो कार्यक्रम पहिलो पटक भएको आयोजकले जनाएको छ।
