फुटबलर सावित्राको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ नामाकरण
लमजुङ, ५ जेठ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा उहाँको गृह जिल्ला लमजुङको एक चोकलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–९, खुदीपुल वारिको क्षेत्रलाई एक विशेष कार्यक्रमका बीच ‘साम्बा चोक’ घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर अंकित बोर्ड अनावरण गर्दै उक्त चोकको नामाकरण गर्नुभएको हो । अध्यक्ष गुरुङले आफ्नै ठाउँकी चेली सावित्राले फुटबल खेलको माध्यमबाट पालिका, जिल्ला हुँदै समग्र नेपाललाई नै विश्वमा चिनाउन सफल भएकाले पालिकावासी गौरवान्वित भएको बताउनुभयो । उहाँले यस्ता सम्मानले खेलाडीलाई थप प्रेरणा मिल्ने र उनको योगदानलाई कदर गर्न चोक नामाकरण गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सावित्रा जस्ता राष्ट्रिय प्रतिभाको नाममा चोक नामाकरण हुनु उहाँको योगदानको कदर हुनुका साथै जिल्लावासीका लागि पनि गौरवको विषय भएको बताउनुभयो ।
यस्तै, फुटबलर साम्बाका बुबा थमनबहादुर भण्डारीले छोरीको नाममा चोकको नामाकरण हुँदा अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले यस्ता सम्मानले छोरीलाई खेल जीवनमा अझै अगाडि बढ्न हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत पर्ने मस्र्याङ्दीको चर्चित खुदीबजार पुल नजिकैको उक्त चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारप्रसारमा समेत थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र थापाको भनाइ छ ।
सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले सुपरिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएकी उहाँ नेपाली महिला राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता हुनुहुन्छ । साथै, उहाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानधारी पनि हुनुहुन्छ । उहाँ लमजुङको तत्कालीन सिम्पानी गाविस–७, हाल मस्र्याङ्दी गाउँपालिका–९, पामचोक गाउँमा हुर्किनुभएको हो ।
