रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’ मा
काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुन सकेन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको उक्त रिटलाई ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।
यसअघि पाँच पटक ‘हेर्न नमिल्ने’ मा परिसकेको यो रिट आज पुनः सोही सूचीमा परेको हो । करिब एक महिनाअघि दायर भएको रिटमा हालसम्म एकपटक मात्रै प्रारम्भिक सुनुवाइ भएको छ ।
अदालत स्रोतका अनुसार, लामिछानेको पक्षबाट बहस गर्न लागेका एक कानून व्यवसायी इजलासका कुनै एक न्यायाधीशको नाता सम्बन्धमा पर्ने देखिएपछि उक्त रिटलाई ‘हेर्न नमिल्ने’ मा राखिएको हो । यसले गर्दा आजको सुनुवाइ प्रभावित भएको छ ।