लोडसेडिङको हल्ला निराधार : कार्यकारी निर्देशक शाक्य

विराटनगर, ८ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशमा विद्युत अभाव नरहेको र भइरहेको ट्रिपिङ समस्या पनि छिट्टै समाधान गरिने बताए ।
शाक्यले विश्वसनीय विद्युत आपूर्ति प्राधिकरणको मुख्य लक्ष्य रहेको र विद्युत आपूर्तिको अवस्थामा वर्षेनी सुधार भइरहेको जानकारी दिए । उनले विश्वासिलो विद्युत आपूर्तिमार्फत लोडसेडिङको हल्लालाई निराधार सावित गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्युत खपत बढाएर प्राधिकरणको व्यापार वृद्धिमा योगदान पुर्याउने उद्योगी–व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।