काठमाडौँलाई २०८१ को बाढीबाट पाठ सिक्दै दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड
काठमाडौं, ९ जेठ । असोजको विनाशकारी बाढीबाट पाठ सिक्दै आगामी दिनमा यस्तो विपत्ति दोहोरिन नदिन ठोस पूर्वतयारी आवश्यक रहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ। विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा उपप्रमुख डंगोलले तत्काल तथ्य संकलन र मूल कारण पहिचान गरी मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो।
“मेरो पुस्ताले काठमाडौँका नदीमा यो स्तरको बाढी कहिल्यै देखेको थिएन,” डंगोलले भन्नुभयो, “यो दुखद घटनालाई सिकाइको रूपमा लिई आगामी दिनमा यस्तो विपद् दोहोरिन दिनु हुँदैन।” सहरी विकासका क्रममा भएका त्रुटि सच्याउँदै साझेदार संस्थाहरूसँगको सहकार्यमा प्रभावकारी योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।
छलफलमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले काठमाडौँको भौगोलिक अवस्था, सहरी बस्ती र नदी प्रणाली अन्य सहरभन्दा फरक रहेकोले अन्यत्र अपनाइएका बाढी व्यवस्थापनका उपाय यहाँ उपयुक्त नहुन सक्ने बताउनुभयो। महानगरपालिकाले नदी सुधार गुरुयोजना निर्माण गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।
विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले काठमाडौँ महानगरपालिकासँग विकास निर्माण र व्यवस्थापनका साझेदारहरूलाई एकै ठाउँमा ल्याउने क्षमता रहेको र यसलाई विपद् व्यवस्थापनमा उपयोग गर्नुपर्ने बताउनुभयो। डेङ्गु संक्रमणको उदाहरण दिँदै उहाँले बर्खाको पानी व्यवस्थापनको कमजोरीले सहरको अर्थतन्त्र, जनस्वास्थ्य, वातावरण र सामाजिक क्षेत्रमा गम्भीर नकारात्मक असर पार्ने बताउनुभयो।
छलफलमा बर्खाको पानी व्यवस्थापन, घरेलु फोहर व्यवस्थापन, फोहर पानी प्रशोधन, सहरी पूर्वाधार र नदी प्रणालीबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो। नदीको प्राकृतिक बहावमा मानवीय क्रियाकलापले पार्ने प्रभाव र त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका उपायबारे पनि छलफल केन्द्रित थियो।
महानगरको विपद् व्यवस्थापन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय तथा विश्व बैंकका वरिष्ठ सहरी विज्ञ र सहरी विकास परामर्शदाता लगायतको उपस्थितिमा उक्त छलफल भएको थियो।
