लामिछाने थुनामै रहने, सर्वोच्चद्वारा बन्दीप्रत्यक्षीकरणको आदेश अस्वीकार
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गरेको हो।
सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलका अनुसार उच्च अदालतको आदेश कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने सर्वोच्चको ठहर छ। लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो।
रुपन्देहीको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछाने रुपन्देही कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिए पनि उच्च अदालतले उक्त आदेश उल्ट्याएको थियो।
