यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा सीमा विवादले झडप, स्थितिलाई नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर

काठमाडाैं, १० जेठ । डोल्पामा यार्सागुम्बा सङ्कलन गर्ने समूहबिच सीमा विवादका कारणले झडप भएकाे छ ।

डोल्पाको ठाला लेकमा शनिबार दिउँसो यार्सागुम्बा सङ्कलन गर्ने दुई समूहबीच झडप भएको हाे । पूर्वी रुकुम र डोल्पाका स्थानीयहरू यार्सागुम्बा टिप्ने क्रममा सीमा विवादलाई लिएर भिडेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, ठुलीभेरी नगरपालिका–१ स्थित ठाला लेकमा पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका करिब ६ देखि ७ सय जना स्थानीयहरूबीच झडप भएको हो।

प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएअनुसार, विवादले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट खटिएको टोलीले दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो।

“झडप यार्सागुम्बा सङ्कलनको क्रममा सीमा क्षेत्रको विषयलाई लिएर भएको हो,” डीएसपी थापाले भने, “हवाई फायरपछि अहिले अवस्था सामान्य बनेको छ।”प्रहरीले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई सामान्यीकरण गर्ने प्रयास गरिरहेको छ।