स्थानीय सम्पदाको परिचयात्मक यात्रा (सम्पदा म्हसिके) सम्पन्न :युवाहरुको उल्लेख्य सहभागिता
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले युवाहरुलाई स्थानीय सम्पदाको महत्वबारे जानकारी गराउने उद्देश्यले ‘सम्पदा म्हसिके’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा करिब ८०० युवाको सहभागिता रहेको थियो । वडा भित्रका ३४ वटा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदास्थलहरुको अवलोकन गराइएको थियो । सहभागीलाई सम्पदाको निर्माण शैली, धार्मिक तथा सामाजिक महत्व, रीतिरिवाज, जात्रा पर्व लगायतका विषयमा जानकारी गराइएको थियो ।
न्यूरोडस्थित मुनेगु थाय्ः गणेश मन्दिरबाट सुरु भएको यात्रा सुन्धारा र धरहरामा पुगेर समापन भएको थियो । परम्परागत वाद्यवादनसहितको यात्रामा सहभागी युवाहरुले सम्पदास्थलबारे जिज्ञासा राखेका थिए ।
वडाध्यक्ष चिनीकाजी महर्जनले पुर्खाले छोडेर गएका सम्पदाको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभयो । यस्ता कार्यक्रमले युवाहरुमा सम्पदा प्रेमको विकास हुने उहाँको विश्वास छ । सांस्कृतिक सम्पदाप्रति युवाहरुको अपनत्व विकास गर्न सके सम्पदा संरक्षणमा थप टेवा पुग्ने उहाँले बताउनुभयो ।
