आधारभूत र विशिष्ठ सिप सिकाउने, प्रविधि प्रदान गर्ने काम हामीले गरेका छौँ, महानगरपालिकाको यो लगानीलाई उत्पादनमा रुपान्तरण गर्नुहोला – उपप्रमुख डंगोल

काठमाडौँ , जेठ १३। रैथाने सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले २१ दिने ‘सेरामिक बस्तु विकास, डिजाइनिङ, रङ्ग समिश्रण तथा फिनिसिङ्’ तालिम सम्पन्न गरेको छ। महानगरको सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासङ्घ, कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सम्पन्न तालिममा १५ जनाको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई माटो मुछ्ने उपकरण हस्तान्तरण गरिन्।

सो अवसरमा उपप्रमुख डंगोलले रैथाने सीप पुस्तान्तरणमा देखिएको खाडल पुर्न महानगरपालिकाले तहगत रूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। “आधारभूत र विशिष्ट सीप सिकाउने र आवश्यक प्रविधि प्रदान गर्ने काम महानगरले गरिरहेको छ। यस लगानीलाई उत्पादनमा रूपान्तरण गर्न आग्रह गर्दछु,” उनले भनिन्।

वडा नं. ५ लाई माटोको दियो (पाला) उत्पादनमा आत्मनिर्भर बनाउँदै बजार विस्तार गर्ने अपेक्षा महानगरले राखेको डंगोलले बताइन्। प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *