अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १५ जेठ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला पुगेको दिन, अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेर मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। सोही दिनको स्मरणमा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउन थालिएको हो।

यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ। दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ।

पर्यटनमन्त्री पाण्डेले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरिएको बताउनुभयो। उहाँले जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले कार्यक्रमहरू नजुध्ने गरी मिलाइएको जानकारी दिनुभयो।

बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ। दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने “सगरमाथा समिटर्स समिट” कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ। दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम पनि छ। पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकारवालाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोहीको स्मरण गर्दै हरेक वर्ष अन्तरराष्ट्रिय सगरमाथा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको बताउनुभयो। उहाँले हिलारीको परिवार तथा विभिन्न मुलुकका आरोही अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउन नेपाल आउने जानकारी दिनुभयो। “लुक्ला विमानस्थललाई तेञ्जिङ हिलारी विमानस्थलको नामाकरण गरिएको छ। सगरमाथा विश्वको सम्पदा र सम्पत्ति भएकाले यसलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन सबै गम्भीर हुनुपर्ने आवश्यकता छ,” अध्यक्ष शेर्पाले भन्नुभयो, “पछिल्लो समय विश्वव्यापी तापमानका कारण हिमालको हिउँ पग्लेर कालापत्थर देखिन थालेको भन्दै सगरमाथा र हिमाल संरक्षणबारे चिन्तन गर्ने बेला आएको छ।”

एक तथ्याङ्कअनुसार नेपालमा पाँच हजार ८०० मिटरभन्दा माथिका एक हजार ७९२ हिमाल रहेका छन्, जसमध्ये आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमै पर्दछन्। यी सबैमध्ये ४६१ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन्।

यस वर्ष पनि दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ।