लोपोन्मुख धिमे बाजा संरक्षणमा भोजपुरका नेवार समुदायको सक्रियता

 

भोजपुर, १८ जेठ । भोजपुरका नेवार समुदायले आफ्नो भाषा, संस्कृति र विशेषगरी लोपोन्मुख धिमे बाजाको संरक्षणमा सक्रियता देखाएका छन् । नेवाः मिसा दबुको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुले धिमे बाजा बजाउने सीप सिकेका छन् । नेवार समुदायमा शुभकार्यमा बजाइने यो बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताइन् ।

प्रशिक्षक प्रेम शाक्यले नयाँ पुस्तालाई परम्परागत बाजा, संस्कार र संस्कृति हस्तान्तरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । युवा पुस्तामा चासोको कमीले संस्कृति लोप हुने खतरा रहेको औँल्याउँदै अध्यक्ष शाक्यले युवाहरूलाई प्रोत्साहन गर्दै आएको जानकारी दिइन् ।

तालिमबाट धिमे बाजाको बारेमा ज्ञान मात्र नभई बजाउने तरिका पनि सिकेको प्रशिक्षार्थी निलेस प्रधानले बताए । नेवार समुदायमा नयाँ वर्ष, विजया दशमी, दिपावली, गाईजात्रा जस्ता पर्वमा धिमे बाजा बजाइने गरिन्छ ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले नेपाली संस्कार र संस्कृतिको संवर्द्धनमा नगरपालिका प्रतिबद्ध रहेको बताए । धिमे बाजा केवल बाजा मात्र नभई मौलिक संस्कृति र पहिचान भएको बताउँदै उनले प्रशिक्षणमा सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *