कमलादीमा राजावादी र वाइसीएलबीच तनाव, प्रहरी हस्तक्षेप
काठमाडौँ, १९ जेठ । कमलादीस्थित त्रिभुवन स्मृति भवनमा आयोजित दिवंगत राजपरिवारको दीप प्रज्ज्वलन कार्यक्रममा ठूलो संख्यामा राजावादीहरूको उपस्थिति हुँदा सुरक्षा अवस्था संवेदनशील बनेको छ। नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसीएलको भेला पनि चलिरहेकोले सुरक्षा चुनौती थपिएको हो।
पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज पारस शाह दीप प्रज्ज्वलनका लागि आउँदा प्रहरी सुरक्षा व्यवस्था नगण्य देखिएको थियो। भीडका कारण पूर्व राजपरिवारलाई मन्दिर प्रवेश गराउन स्वयंसेवकहरूलाई निकै कठिनाइ भएको थियो।
यसैबीच, प्रज्ञा भवनबाट निस्किएका वाइसीएल कार्यकर्ता र राजावादीबीच झडपको स्थिति सिर्जना भएको थियो। वाइसीएल कार्यकर्ताले राजपरिवारविरुद्ध नाराबाजी गरेपछि राजावादीहरू आक्रोशित बनेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरि दुई पक्षलाई अलग्याएको थियो। हाल कमलादी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज पारस भने मन्दिरभित्र पूजाअर्चनामा सहभागी भइरहेका छन्।
