सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन, बन्द जारी रहने

 

काठमाडौँ, १९ जेठ । सरकार र यातायात व्यवसायीबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। यससँगै व्यवसायीहरूले आह्वान गरेको बन्द भोलि पनि जारी रहने भएको छ।

चारवटै यातायात व्यवसायी महासंघले आफ्ना प्रमुख माग सम्बोधन नभएको भन्दै बन्द फिर्ता नहुने जनाएका छन्। पहिलो बुँदामै सहमति हुन नसकेको र सोही माग नै प्रमुख भएकोले वार्ता सफल हुन नसकेको व्यवसायीहरूको भनाइ छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वार्ता सकारात्मक भए पनि सहमतिमा पुग्न नसकिएको बताए। उनले निरन्तर छलफल भइरहेको र भोलि (मंगलबार) बिहान साढे १० बजे पुनः वार्ता हुने जानकारी दिए।

आजको वार्तामा कार्यदल गठन गरी छलफल अघि बढाइएको थियो। अधिकांश बुँदामा सहमति नजिक पुगे पनि गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्ने विषयमा (१ नम्बर बुँदा) सहमति जुट्न नसकेको वार्तामा सहभागीहरूले बताएका छन्।

रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने नियमावलीको विरोधमा आफूहरूले बन्दको आह्वान गर्नुपरेको सिटौलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *