घरजग्गा कारोबारमा कालोधन नियन्त्रण गर्न सरकारको नयाँ कदम: क्रेता-विक्रेता दुवैको केवाईसी र बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं, २१ जेठ । घरजग्गा कारोबारमा हुने कालोधनको लगानीलाई निरुत्साहित गर्न सरकारले नयाँ तथा कडा व्यवस्था लागू गरेको छ।

अबदेखि घरजग्गा खरिद-बिक्री गर्दा क्रेता र विक्रेता दुवै पक्षको ग्राहक पहिचान (केवाईसी) विवरण र बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। लिखत पारित हुनुअघि यी कागजातहरू अनिवार्य हुनेछन्।

यसका साथै, दश लाख रुपैयाँभन्दा माथिको कुनै पनि कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ जेठ १३ गते जारी गरेको परिपत्रअनुसार, यो कदम सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्ने उद्देश्यले चालिएको हो।

घरजग्गा कारोबार मुख्य व्यवस्थाहरू:
बैंक स्टेटमेन्ट: लिखत पारित गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम हस्तान्तरण भएको स्पष्ट देखिने बैंक स्टेटमेन्ट अनिवार्य गरिएको छ।

उच्च कारोबारको जानकारी: कुनै एक व्यक्तिले एकै दिनमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गरेमा त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई दिनुपर्नेछ।

राजस्व भुक्तानी: दश लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन शुल्क खरिदकर्ताको बैंक खाताबाट र पुँजीगत लाभकर विक्रेताको बैंक खाताबाट सीधै तोकिएको राजस्व खातामा बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्नेछ।

बैनापट्टामा कडाइ: स्थानीय तहबाट प्रमाणित बैना सम्झौतापत्र (बैनापट्टा) मा उल्लेखित रकम दश लाखभन्दा बढी भएमा, सो बैना रकमको भुक्तानी बैंकमार्फत भएको प्रमाण पनि संलग्न गर्नुपर्नेछ।

विभागले यी निर्देशनहरूको कार्यान्वयन कडाइका साथ अनुगमन गर्ने र उल्लंघन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने जनाएको छ। यो नयाँ व्यवस्थाले घरजग्गा कारोबारलाई थप पारदर्शी बनाउने र अवैध आर्जनलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।