सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
रामेछाप, २१ जेठ । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।
यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजनाको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको काम द्रुत गतिमा हुन लागेको हो ।
अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने भन्दै जानकारी गराउनुका साथै काम छिटो भए भुक्तानी पनि छिटो हुने भनेपछि काम दु्रत गतिमा अगाडि बढिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाका लागि १३ दशमलव दुई किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् । गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधिन हेडबक्सको काममा धेरै क्षति पुर्याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो ।