माधव नेपालको मुद्दा अदालतमा प्रवेश गरिसक्यो, अब धेरै नबोलौँ : महामन्त्री थापा

विराटनगर, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा अब अदालतको क्षेत्राधिकारभित्रको विषय भएकाले यसबारे धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताउनुभएको छ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले अदालतले यो मुद्दाको सम्मानपूर्वक र स्वतन्त्र रूपमा निरुपण गर्ने विश्वास व्यक्त गर्नुभयो।

पार्टीको आन्तरिक विषयमा बोल्दै महामन्त्री थापाले आगामी महाधिवेशनअघि नै क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सबै नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण र व्यवस्थापनको जिम्मेवारी समयमै पूरा गर्नुपर्छ।”

त्यस्तै, उहाँले वर्तमान सरकारको कामकारबाहीबारे पनि टिप्पणी गर्नुभयो। सरकारलाई सफल बनाउन पार्टीले सक्दो प्रयास गरिरहेको बताउँदै उहाँले सरकारले अपेक्षाअनुसार काम गरेर जनताको मन जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो।