आयल निगममा भ्रष्टाचार: गण्डकी प्रदेशका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २५ जेठ । बिलमाभन्दा ३ हजार लिटर बढी डिजेल पठाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दासलगायत पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार, निगम प्रमुख दासले पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि र व्यवसायीसँगको मिलेमतोमा बदनियतपूर्वक चलखेल गरेका थिए । अनुसन्धानबाट खुलेअनुसार, डिपोको सिसी क्यामेरासमेत बन्द गरी १२ हजार लिटरको बिलमा १५ हजार ३८ लिटर डिजेल पठाइएको थियो ।

बिलमा उल्लेख भएभन्दा ३,०३८ लिटर बढी डिजेल पठाएर राज्यलाई रु. ४ लाख ४८ हजार ५२५ नोक्सान पुर्‍याएको अख्तियारको दाबी छ । यो रकम हिनामिना गरेको अभियोगमा आयोगले निगम प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिद्वय जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट तथा ट्याङ्कर चालक निर्मल थापाविरुद्ध जनही रु. ४,४८,५२५ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

बढी डिजेल बोकेको उक्त ट्याङ्कर पोखरा महानगरपालिका-२७ बाट नियन्त्रणमा लिइएपछि यो अनियमितता बाहिर आएको थियो ।