सदनको गतिरोध अन्त्य हुनेमा सभामुख विश्वस्त, आज २ बजेदेखि बैठक चल्ने
काठमाडौँ, २६ जेठ । सभामुख देवराज घिमिरेले केही दिनदेखि अवरुद्ध रहँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेदेखि सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले दलहरूबीच सहमति जुट्ने र बजेटजस्तो महत्त्वपूर्ण विषयमाथिको छलफल अघि बढ्नेमा आफू आशावादी रहेको बताउनुभयो।
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले उक्त कुरा बताउनुभएको हो।
“सदन अवरुद्ध हुनुपर्ने थिएन, तर भयो। सामान्यतया ११ वा १ बजे बस्ने बैठक सहमतिका लागि समय उपलब्ध गराउन आज २ बजेका लागि राखिएको हो। मलाई आशा छ, २ बजेदेखि संसद् चल्छ,” उहाँले भन्नुभयो।
बैठक अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अब समयको क्षतिपूर्ति गर्न कार्यसूची परिमार्जन गर्नुपर्ने बताउनुभयो। “नोक्सानी त भइसक्यो। अब बाँकी समयभित्रै विधि पुर्याएर बजेटमाथिको छलफल सक्नुपर्छ। त्यसका लागि कार्यसूची सोहीअनुसार तयार हुनेछ,” सभामुखले भन्नुभयो। उहाँले छलफलमा भाग लिने सांसद संख्या घटाउने जस्ता विकल्पमा समेत जानुपर्ने अवस्था आउन सक्ने तर्फ सङ्केत गर्नुभयो।