देशभर बदली र वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

 

काठमाडौँ, २७ जेठ ।  देशका विभिन्न भूभागमा आज बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम र मध्य नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको महाशाखाले बताएको छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भए पनि आंशिक बदली हुन सक्नेछ। कोशी र लुम्बिनीसहित पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी, लुम्बिनी र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।