राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुब्बामाथि महिलाको गोप्य अंग खानतलासी गरेको आरोप, अदालतमा मुद्दा दर्ता

मोरङ, २७ जेठ । नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। एक महिलाले आफ्नो गोप्य अंगको खानतलासी गर्दै दुर्व्यवहार गरेको आरोप लगाउँदै सुब्बासहित तीन जनाविरुद्ध उजुरी दिएकी हुन्।
सुब्बासँगै इटहरी उपमहानगरपालिका-९ बस्ने गोपाल शाह र सुनिता घिमिरे पनि विरुद्ध मुद्दा परेको हो। शाह पीडित महिलाका ससुरा हुन्।
पीडित महिलाका अनुसार गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र उनका ससुरा गोपाल शाह मिलेर मोरङको डायनियास्थित माइतीघरमै पुगी दुर्व्यवहार गरेका थिए। पूर्वमन्त्री सुब्बासहितले जबरजस्ती गैरकानुनी शरीर तलासी र बेइज्जती गरेको आरोप पीडितले लगाएकी छिन्।
श्रीमानसहित परिवारका सदस्यहरूले ती महिलालाई हेलाहोचो गरी घरबाट निकालेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन्। श्रीमान र ससुराको बारम्बारको यातनाका कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी पीडितले परिवारबाट म्यादसमेत नबुझेको बताएकी छिन्।
पीडितका अनुसार पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता लिन दबाब दिएका थिए। माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको’ भन्दै अपमान गरेको जाहेरीमा उल्लेख छ। “प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं। तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए,” जाहेरीमा पीडितले भनेकी छन्।
यता सुब्बाले भने गोपाल आफ्नै घरमा बस्ने केटो भएकाले परिवार बिखण्डन हुन लागेकाले छलफलमा गएको बताएका छन्। “म छलफलमा गएको हो। छलफलमा गएको विषयलाई अतिरंजित बनाइयो,” उनले भने, “मैले कुनै दुर्व्यवहार गरेको छैन।”