किन रोकियो मनसुन? पश्चिमी वायुको अवरोध र बाह्य प्रणालीको प्रभावले बढ्यो गर्मी

काठमाडौं, २७ जेठ । नेपालमा निर्धारित समयभन्दा तीन दिनअघि नै मनसुन भित्रिए पनि सक्रिय हुन नसक्दा देशभर गर्मीको प्रकोप बढेको छ। कोशी प्रदेशमा सीमित भएको मनसुन पश्चिमी वायुको बलियो प्रभावका कारण मध्य तथा पश्चिम नेपालतर्फ फैलिन सकेको छैन, जसका कारण मनसुनी वर्षा हुन नसकेको हो।

मनसुन सक्रिय नहुनुका मुख्य कारणहरू:
जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीबाट आउने मनसुनी वायु सक्रिय हुन पश्चिमी वायु कमजोर हुनुपर्छ। तर, हाल मध्य र पश्चिम नेपालमा पश्चिमी वायु शक्तिशाली रहँदा मनसुनी वायुले प्रवेश पाएको छैन।

अर्कोतर्फ, बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीबाट आउने हावा पूर्वी एसिया (फिलिपिन्स, ताइवान) तिर बनेको अर्को शक्तिशाली प्रणालीले तानेका कारण पनि नेपालतर्फको मनसुनी बहाव कमजोर परेको मौसमविद गोविन्द झाले बताए।

अब कहिले पर्छ पानी?
मौसमविदहरूका अनुसार, अबको केही दिनमा मौसममा सुधार आउने संकेत देखिएको छ। पूर्वी एसियातिर मोडिएको वायुको केही अंश नेपालतर्फ फर्कने, बंगालको खाडी र मध्य भारतमा नयाँ मौसमी प्रणाली विकसित हुँदै गरेको र पश्चिमी वायुको समेत संयुक्त प्रभावले अबका केही दिनमा देशका विभिन्न भागमा वर्षाको सम्भावना बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *