गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीद्वारा आजपनि संसद अवरूद्ध

काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दलहरूले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । लगातारको अवरोधका कारण संसदको कारबाही आज पनि प्रभावित बनेको हो ।

आजको बैठक सुरु भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नासाथ प्रतिपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

विपक्षी सांसदहरूले विरोध जनाएपछि सत्तापक्षका सांसदहरूले पनि उठेर संसदको कारबाही अगाडि बढाउन माग गरे । उनीहरूले विपक्षी दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध गरेर बोल्न पाउने अधिकार हनन गरेको आरोप लगाए ।

यता, विपक्षी सांसदहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नतामाथि छानबिन हुनुपर्ने र उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अडान राखे । यही विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच केहीबेर भनाभन र तनावको स्थिति सिर्जना भएको थियो ।

सभामुख घिमिरेले पटक-पटक सांसदहरूलाई बस्न आग्रह गर्दै दलीय प्रतिनिधित्वको आधारमा बोल्न समय दिने आश्वासन दिए । तर, विपक्षी सांसदहरूले आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने अडान कायमै राखेपछि बैठक अघि बढ्न सकेन ।