काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सामाखुसी करिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कम रकम कबोल गर्ने कम्पनीलाई पाखा लगाउँदै बढी रकम कबोल गर्नेलाई ठेक्का दिएर राज्यलाई ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी हानि पुर्‍याएको अख्तियारको अभियोग छ ।
अख्तियारका अनुसार, उक्त ठेक्काका लागि समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार रुपैयाँको सबैभन्दा कम रकम कबोल गरेको थियो । तर, बोलपत्र मूल्यांकन समितिले उक्त प्रस्तावलाई अस्वीकार गर्दै २२ करोड ४० लाख ९४ हजार रुपैयाँ कबोल गर्ने कल्पवृक्ष कोहिनूर जेभीलाई ठेक्का दिएको थियो ।

यसरी ठेक्का दिँदा राज्यकोषमा ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा नोक्सानी भएको अख्तियारको दाबी छ ।

मुद्दामा प्रतिवादी बनाइएका परियार हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक हुन् । उनीसँगै तत्कालीन बोलपत्र मूल्यांकन समितिका सदस्यहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई पनि प्रतिवादी बनाइएको छ ।

न्यूनतम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिई अनियमितता गरेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरेपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *