जनता समाजवादी पार्टीका प्रदेश सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

 

महोत्तरी, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहालाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

यसअघि जेठ १२ गते अख्तियारले सांसद कुशवाहाको घरमा छापा मारेको थियो। सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ (६५) पक्राउ परेका थिए।

सांसद कुशवाहामाथि विभिन्न उपभोक्ता समिति गठन गरी समितिको खातामा जम्मा भएको रकम स्वकीय सचिव कायस्थमार्फत झिक्ने गरेको आरोप छ। उक्त रकम आफ्नो र श्रीमतीको बैंक खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।

कुशवाहा जसपाबाट महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन्। अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।