सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
काठमाडौँ, असार १ गते । सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताउनुभयो । उहाँले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राख्नुभयो ।
त्यस्तै, भक्तपुरको थिमि बैंक्वेटमा सम्पन्न भएको दोस्रो दिनको सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षण गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयस्तरमा मातृभाषाको अध्यापन गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत मेयर श्रेष्ठले बताउनुभयो ।
‘नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरेका हौं । सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुभएको छ ।’ पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले बताउनुभयो ।
करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरु समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ।
सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा प्यानल छलफल गरेको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चार गृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा सञ्चारकर्र्मी मल्ल के सुन्दर, गणेश राई तथा अजितमान तामाङ सम्मानित हुनुभयो । यसैगरी संस्थागततर्फ गोरखापत्र, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभजन र प्रेस काउन्सिल सम्मानित भए ।
नेवाः पत्रकार राष्ट्रिय दबुले यसअघि सन् २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन, सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन गरेको थियो ।