सानो पाइला सहकारी ठगीमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोड ७४ लाख बिगो माग

काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, पर्साले लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै अभियोग पत्र दायर गरेको हो।

लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यस प्रकरणमा सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ। प्रहरीले गत वैशाख १४ गते नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

यसअघिदेखि नै रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेमाथि सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा रकम लिएको आरोप छ।

तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाहरूलाई कार्यक्षेत्र बनाएको यस सहकारीमा करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत थियो। तर, सहकारीले ऐनविपरीत कार्यक्षेत्र बाहिरका व्यक्ति तथा संस्थालाई ऋण प्रवाह गरी करिब ९२ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ।
सहकारीका मुख्य संरक्षक जीबी राई नै हुन्।

अनुसन्धानका क्रममा सहकारीको रकम राई सञ्चालक रहेका विभिन्न कम्पनीहरूमा प्रवाह भएको देखिएको छ। जसअनुसार नेचर हब इन्टरनेसनललाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड १ लाख रुपैयाँ गैरकानुनी रूपमा कर्जा दिइएको थियो।