काठमाडौँमै साहसिक पर्यटनको मज्जा, ‘वनजङ्गल एडभेञ्चर’ बन्यो नयाँ आकर्षणको केन्द्र

 

काठमाडौँ, ३ असार । साहसिक पर्यटनमा रुचि राख्ने तर काठमाडौँ उपत्यका बाहिर जान फुर्सद नहुनेहरूका लागि अब राजधानी नजिकै नयाँ गन्तव्य सञ्चालनमा आएको छ। तारकेश्वर नगरपालिका–३, पाँचमानेमा ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै यो क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो।

काठमाडौँको रिङरोड, बालाजु बाइपासबाट करिब १० किलोमिटरको दूरीमा ककनी जाने राजमार्गमै यो एडभेञ्चर पार्क रहेको छ। यसले गर्दा उपत्यकावासीलाई जिपलाइन, रक क्लाइमिङ र बञ्जीजम्प जस्ता साहसिक खेलका लागि घण्टौँ लगाएर टाढाका गन्तव्यमा पुग्नुपर्ने बाध्यता हटेको छ। प्राकृतिक हरियाली र स्वच्छ हावाको आनन्द लिँदै साहसिक गतिविधिमा रमाउन सकिने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ।

आठ महिनादेखि सञ्चालनमा रहेको ‘वनजङ्गल एडभेञ्चर’ले विशेषगरी काठमाडौँमा बसोबास गर्नेहरूलाई लक्षित गरेको छ। “हामीले काठमाडौँका बासिन्दालाई प्रकृति र साहसिक पर्यटनप्रति रुचि बढाउन यो व्यवसाय सुरु गरेका हौँ,” सञ्चालक एलिसा ढकालले भन्नुभयो, “अहिले साहसिक खेलका प्याकेज बनाएर आउने समूहको सङ्ख्या बढ्दो छ। यहाँ आउँदा समयको बचत हुने र जङ्गलको बीचमा फरक अनुभव पाइने भएकाले पर्यटकको आकर्षण बढेको हो।”

करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको यस एडभेञ्चर पार्कमा पर्यटकले विभिन्न साहसिक खेलको अनुभव लिन सक्छन्। सञ्चालक ढकालका अनुसार, यहाँ नेपालमै पहिलो पटक ‘रोलर कोस्टर जिपलाइन’ को अनुभव लिन सकिन्छ। यसका साथै क्लाइमिङ वाल, अब्स्ट्याकल कोर्ष, हाइरोप कोर्ष, जाइन्ट स्विङ तथा बालबालिकाका लागि छुट्टै ‘किड्स एडभेञ्चर्स कोर्ष’ को पनि व्यवस्था छ।

साहसिक खेलका साथै यहाँ परम्परागत नेपाली जीवनशैलीको अनुभव पनि गर्न सकिन्छ। पर्यटकको बसाइका लागि ११ वटा टेन्ट र एउटा मौलिक घरको व्यवस्था गरिएको छ। उक्त मौलिक घरमा ढिकी, जाँतो, हलो जस्ता परम्परागत सामग्रीहरू राखिएको छ, जसले आगन्तुकलाई नेपाली मौलिकताको अनुभव गराउँछ। विशेषगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ।

रु. छ करोडको लागतमा निर्माण भएको यो पार्कका सम्पूर्ण संरचनाहरू इन्जिनियरिङ मापदण्डअनुसार बनाइएको सञ्चालक ढकालको दाबी छ। “हामीले पर्यटन विभागबाट अधिकांश खेलका लागि अनुमति लिएका छौँ र हरेक साहसिक खेलमा सहभागी हुने खेलाडीको बीमा अनिवार्य गरेका छौँ,” उहाँले भन्नुभयो। भारतीय ‘अक्सो कन्सल्टेन्सी’ले एक वर्षको अवधिमा यसको पूर्वाधार निर्माण सम्पन्न गरेको हो।