प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो, नाराबाजीकै बीच बजेटमाथि छलफल जारी

काठमाडौँ, ६ असार। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको निरन्तर अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।

शुक्रबारको बैठक प्रारम्भ हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न पटक-पटक आग्रह गर्नुभएको थियो। तर, विपक्षी सांसदहरूको नाराबाजी नरोकिएपछि सभामुखले ‘विशेष कारणवश’ भन्दै प्रधानमन्त्रीसँग सांसदहरूले गर्ने प्रश्नोत्तरको कार्यक्रमलाई आजको कार्यसूचीबाट हटाएको घोषणा गर्नुभयो।

यद्यपि, प्रश्नोत्तर कार्यक्रम स्थगित गरिए पनि सभामुख घिमिरेले बैठकको अन्य कारबाहीलाई अगाडि बढाउनुभएको छ। विपक्षी सांसदहरूको निरन्तरको नाराबाजी र होहल्लाकै बीचमा उहाँले आगामी आर्थिक वर्षको बजेटमाथिको मन्त्रालयगत छलफललाई निरन्तरता दिनुभएको छ।