मनसुन सक्रिय : आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

 

काठमाडौँ, ७ असार । देशभर मनसुनी वायु सक्रिय रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यस्तो छ दिउँसोको मौसम

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

रातीको पूर्वानुमान

आज राति मौसममा थप सक्रियता देखिनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशहरूका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम बढेको छ। महाशाखाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, तथा सडक र हवाई यातायातमा पर्न सक्ने असरप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।