ललितपुरमा दुई समूहबीच ग्याङफाइट, हतियार प्रहारबाट दुई घाइते, दुई पक्राउ

ललितपुर, ८ असार । ललितपुर महानगरपालिकामा आइतबार दिउँसो दुई समूहबीच भएको ग्याङफाइटमा धारिलो हतियार प्रयोग हुँदा दुई युवक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार आइतबार अपराह्न ४ बजेतिर ललितपुर-४ स्थित विष्णुदेवी मन्दिर नजिक दुई समूहबीच भिडन्त भएको हो। धारिलो हतियार प्रहारबाट महोत्तरी घर भई धोबिघाट बस्ने ३० वर्षीय रञ्जीत मगर र कैलाली घर भई सोही क्षेत्रमा बस्दै आएका २६ वर्षीय खगेन्द्र बयक घाइते भएका छन्।

प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मगरको पेटमा गम्भीर चोट लागेको छ र उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। बयकको भने नाकमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

एसपी जोशीले अनुसार यी समूहबीच शनिबार पनि सामान्य विवाद भएको र आइतबार त्यसले झडपको रूप लिएको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।