काठमाडौंका उपमेयर सुनिता डंगोललाई नेवा देय् दबुको सम्मान
काठमाडौं, असार १४ । नेवार समुदायको राष्ट्रिय संगठन नेवा देय् दबुले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई विशेष सम्मान कार्यक्रममा सम्मानित गरेको छ। उपमेयर डंगोलले काठमाडौं महानगरपालिकाको भाषा, जाति, संस्कृति, सम्पदा संरक्षण र स्थानीय विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सम्मानपत्र प्रदान गरिएको हो।
यस्तै हालै मात्र उपमेयर डंगोलले अन्तर्राष्ट्रिय मञ्चबाट ‘योंग ग्लोबल लिडर’ को मान्यता प्राप्त गरेकी छिन्। विश्व जगतमा योंग ग्लोबल लिडरको रुपमा सम्मानित हुनुको उपलक्ष्यमा समेत नेवा देय् दबुले उनलाई सम्मान गरेको हो। यो सम्मानले उनको नेतृत्व क्षमता र समुदायिक विकासमा पुर्याएको योगदानलाई मान्यता दिएको छ।
नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा उपमेयर डंगोललाई भाषावीद् तथा नोव न्ह्यलुवा मल्ल के सुन्दरले सम्मानपत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरूले उपमेयर डंगोलको कुशल नेतृत्वमा काठमाडौं महानगरपालिकाले भाषा र संस्कृतिको संरक्षण, सम्पदा व्यवस्थापन र स्थानीय विकासका क्षेत्रमा गरेका उत्कृष्ट प्रयासहरूको प्रशंसा गरे।
सम्मान कार्यक्रममा बोल्दै उपमेयर डंगोलले आफ्नो हालको कार्यकालमा काठमाडौंको मौलिकता जोगाउन तथा नेवार समुदायको पहिचान, भाषा र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै सम्मानप्रति हार्दिक आभार प्रकट गरिन्।
उनले भनिन्, “आगामी दिनहरूमा पनि सम्पूर्ण समुदायको सहयोग र सहकार्यमा जनताप्रति गरेको आफ्नो प्रतिबद्धता अनुसार काठमाडौंलाई समावेशी, सांस्कृतिक र समृद्ध शहर बनाउन निरन्तर प्रयासरत रहने छु।”
सो अवसरमा राष्ट्रिय सभाका सदस्य एवं पूर्व राजदूत डा. अन्जान शाक्यलाई पनि उहाँले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
नेवा देय् दबुले उपमेयर डंगोलजस्ता प्रतिभावान युवा नेतृत्वकर्ताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने र अन्य युवाहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरेको छ। संस्थाले यस्ता व्यक्तित्वहरूलाई सम्मान गरेर समुदायिक विकास र सांस्कृतिक संरक्षणमा उनीहरूको योगदानलाई मान्यता दिने परम्परा जारी राखेको उल्लेख गरेको छ।
आयोजित सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, समुदायका अगुवाहरू, बुद्धिजीवीहरू र सञ्चारकर्मीहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमले नेवार समुदायको एकता र सांस्कृतिक चेतनालाई थप बलियो बनाउने काम गरेको आयोजकहरूले जनाएका छन्।