नेपाली कांग्रेसले नेपाल तरुण दलको महाधिवेशन मंसिर २६–२८ मा गर्ने
काठमाडौँ, १८ असार । नेपाली कांग्रेसले नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुसार तोकिएको मितिमा अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि निर्देशन समितिलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ। साथै, महाधिवेशनसम्मका लागि तरुण दल केन्द्रीय समितिको पदावधि थप गर्ने र तयारी तथा व्यवस्थापन सहज बनाउन मौजुदा कार्यसमितिभित्रै सानो व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
बैठकमा विभिन्न प्रस्तावहरू पेश भई नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ। कांग्रेस केन्द्रीय समितिको अर्को बैठक असार १९ गते दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।