गठबन्धन देशको आवश्यकता, जनताको निराशा बुझेको छु : गृहमन्त्री लेखक

बैतडी, १८ असार । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन देशको आवश्यकता भएको बताउँदै सरकारप्रति देखिएको जनअसन्तुष्टिबारे आफू जानकार रहेको स्वीकार गर्नुभएको छ।

गृहमन्त्री बनेपछि पहिलोपटक आफ्नो गृह जिल्ला बैतडी पुग्नुभएका उहाँले सरकार जनताका चाहना पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

बैतडीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले भन्नुभयो, “दुई ठूला दल देशको आवश्यकताअनुसार मिलेका हौँ र सातबुँदे सहमतिमा इमानदारीपूर्वक अघि बढेका छौँ।” उहाँले सरकार सञ्चालनमा केही कठिनाइ भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गठबन्धन सरकारले आमनागरिकका सबै चाहना तत्काल पूरा गर्न नसकेको स्वीकार्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारका कामप्रति केही निराशा र चिन्ता छ भन्ने हामीले बुझेका छौँ। तर, हामी असल र राम्रा काम गरेर ती गुनासा सम्बोधन गर्न लागिपरेका छौँ।” उहाँले सुदूरपश्चिमको विकासका लागि कैलालीको गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय सरकारको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

कार्यक्रममा स्थानीय नेताहरूले बैतडीका विकास निर्माणका मुद्दामा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उहाँको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभयो ।

सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराउनुभयो ।

यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ ।

दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । गृहमन्त्री भएपश्चात् लेखक पहिलोपटक जन्मघर बैतडी पुग्नुभएको हो ।