वनमन्त्री बर्खास्तले नाउपा रुष्ट, संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने

 

काठमाडौं, १९ असार ।  सुदूरपश्चिम प्रदेशका वनमन्त्रीलाई बर्खास्त गरिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय र प्रदेश दुवै सरकारबाट बाहिरिने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् । उनले  अब केन्द्र र प्रदेश दुवै तहमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने घोषणा गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नाउपाका तर्फबाट मन्त्री बनेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि नाउपा सरकारसँग चिढिएको हो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरीसँगको सल्लाहमा सरकार छाड्ने निर्णय भएको बताइन्। “हाम्रा संरक्षकज्यूको सल्लाहअनुसार प्रदेश सभा र संघीय सरकार दुवैतिर प्रतिपक्षमा बस्ने सहमति भएको छ,” अध्यक्ष श्रेष्ठले भनिन्।

यो निर्णयसँगै संघीय सरकारमा रहेकी भूमि व्यवस्था राज्यमन्त्री अरुणा चौधरीले भोलि  राजीनामा दिने तयारी गरेकी छन्।

पार्टीका संरक्षक रेशम चौधरीले पनि पार्टीसँग परामर्श नगरी मन्त्रीलाई हटाइनु अपमानजनक भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अब नाउपा प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्। नाउपाको यो निर्णयले सुदूरपश्चिम प्रदेश सरकारको बहुमतमा समेत असर पर्न सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *