कला प्रदर्शनीले विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्‍यो : उपप्रमुख डंगोल

 

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरूद्वारा सिर्जित कला प्रदर्शनीले उनीहरूमा नयाँ सिर्जनाका लागि प्रेरणा र प्रोत्साहन मिलेको बताउनुभएको छ। महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कला प्रदर्शनीले विद्यार्थीको प्रतिभा प्रस्तुत गर्नुका साथै भविष्यमा अझ उत्कृष्ट कला सिर्जना गर्न उत्प्रेरित गरेको उहाँको भनाइ छ।

असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको समापन समारोहमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, “अघिल्लो वर्षभन्दा यस वर्ष विद्यार्थीको कलामा धेरै प्रगति भएको पाएँ। पेन्टिङ, स्केच, स्कल्पचरजस्ता कलामा उहाँहरूले लगनशीलताका साथ सिक्नुभएको छ, जुन उहाँहरूका सिर्जनामा स्पष्ट देखिन्छ। यो सिकाइको क्रम तीव्र रूपमा अघि बढिरहोस्।” उहाँले प्रदर्शनीमा राखिएका कलाकृति आकर्षक हुनुका साथै संस्कृति र सम्पदा संरक्षणमा केन्द्रित रहेकोमा खुसी व्यक्त गरिन्।

महानगरको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ तालिम लिएका विद्यार्थीहरूले तयार पारेका कलाकृति प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीमा महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका सिर्जना समावेश थिए।

समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्ने महानगरको अभियानले विद्यार्थीमा सिर्जनात्मक अभिव्यक्तिको विकास गर्न सहयोग पुगेको बताउनुभयो। त्यसैगरी, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस्ता तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक सौरगङ्गा दर्शनधारीले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको समेत काम गर्ने धारणा राख्नुभयो।

कार्यक्रममा प्रशिक्षक, सहायक प्रशिक्षक तथा प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षक कलाकारहरूका कलाकृति समावेश ‘एकता’ प्रदर्शनी पनि सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *