अनेरास्ववियुले सुरु गर्यो ‘पलिसी इन्टर्नशिप’
काठमाडौँ, असार २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नीतिगत क्षेत्रमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यक्रम ‘पलिसी इन्टर्नशिप’ सञ्चालन गर्ने भएको छ। यस कार्यक्रममार्फत अनेरास्ववियुले शिक्षा लगायतका नीति निर्माणको प्रक्रियामा ठोस हस्तक्षेप र पहल गर्ने लक्ष्य राखेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आज (मंगलबार) अनेरास्ववियुका महासचिव दीपक धामीको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयबारे जानकारी दिँदै अनेरास्ववियुको नीति, योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश बिष्टले मासिकरूपमा ‘पलिसी इन्टर्न’ लिन सुरु गरिने बताए।
यस कार्यक्रमअन्तर्गत संगठनभित्र र बाहिरका इच्छुक शोधकर्ताहरूलाई ५०-५० प्रतिशतको अनुपातमा समेटिने महासचिव धामीले जानकारी दिए। उनका अनुसार यो प्रयासले युवाहरूको अनुसन्धानात्मक क्षमता अभिवृद्धि गर्नुका साथै संगठनलाई समृद्ध नीतिगत आधार तयार गर्न मद्दत पुग्नेछ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष डा. सुजन कडरियाले नीतिगत सुधार तथा विकासका लागि यो कार्यक्रम अपरिहार्य रहेको बताए।
इन्टर्नशिप कार्यक्रमबाट प्राप्त अध्ययन तथा अनुसन्धानहरूलाई प्रकाशन गरिने अनेरास्ववियुले जनाएको छ। साथै, आगामी दिनमा समर र विन्टर स्कूलहरू समेत आयोजना गरिने योजना रहेको बताइएको छ।
अनेरास्ववियुले यो कार्यक्रममार्फत युवा विद्यार्थी तथा अनुसन्धानकर्मीहरूलाई नीतिगत बहस र अनुसन्धानमा जोडेर भविष्यमा अध्ययनमा आधारित आन्दोलनलाई थप सुदृढ गर्ने अपेक्षा लिएको छ।
