रास्वपाको हस्ताक्षर र चन्दा अभियानमा चितवन कांग्रेसको आपत्ति, तत्काल रोक्न चेतावनी
चितवन, २२ असार । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाभर चलाएको हस्ताक्षर र चन्दा संकलन अभियानमा आपत्ति जनाउँदै तत्काल उक्त गतिविधि बन्द गर्न चेतावनी दिएको छ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान सञ्चालन गरिनुले जनमानसमा थप शंका उत्पन्न गराएको उल्लेख गरेका छन्। विज्ञप्तिमा अनाधिकृत रुपमा चन्दा संकलन गर्ने कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।
सभापति खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सहकारी पीडितहरूको उजुरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा रहेका व्यक्तिका सम्बन्धमा सर्वसाधारण जनतालाई दबाब र प्रभावमा पारी सञ्चालन गरिएको यस प्रकारको क्रियाकलाप कानुनी राज्य र विधिको शासनविपरीत भएको ठहर गर्दछौँ। दबाब र प्रभावजन्य यस्ता कार्यहरू तत्काल बन्द गरी सम्मानित अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा अवाञ्छित प्रभाव नपार्न सम्बन्धित राजनीतिक दल र सो क्रियाकलापमा संलग्न व्यक्तिहरू समक्ष हामी जोडदार माग गर्दछौँ।”