त्रिशूलीमा बाढीले फसेका दुईको उद्धारका लागि हेलिकप्टर परिचालन
नुवाकोट, २४ असार । नुवाकोटको विदुर नगरपालिकास्थित इन्द्रेणीघाट नजिक त्रिशूली नदीको बाढीमा सोमबारदेखि फसेका दुई जना एकै परिवारका व्यक्तिको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
घाँसदाउराका लागि नदी किनारमा गएका उनीहरू अचानक त्रिशूलीमा बाढीको बहाव बढेपछि नदीको बीच भागमा फसेका हुन् । सोमबार दिउँसोदेखि उनीहरू नदीको बीचमा रहेको एउटा रुखमा ओत लागेर बसिरहेका छन् । रुखमुनि तीव्र गतिमा बाढी बगिरहेको छ ।

स्थानीय प्रशासन र विपद् व्यवस्थापन टोलीले पैदल तथा डुङ्गाबाट उद्धारको प्रयास गरे पनि बाढीको बहाव तीव्र भएकाले सम्भव भएको थिएन । बाढीले फसेकाहरूको अवस्था जोखिमपूर्ण बनेपछि हेलिकप्टरको सहायता माग गरिएको थियो ।
हाल हेलिकप्टर घटनास्थल पुगेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
